Wednesday, April 29, 2009

२०६२ सालको नयाँ वर्ष

प्रत्येक सालको चैत्र मसान्तपछि नया वर्ष वैशाख एक गते वनेर टुप्लुक आई पुग्छ । कसैले त्यसलाई वोलाइ रहनुपदैन, अनायसै हाम्रो व्यस्ततालाई चिरेर नया पात्रोमा नयां वर्ष छाइदिन्छ । वोट विरुवाहरुको नांगो शरीरमा पालुवा भएर हरियाली छाएको प्रत्यक्ष देख्न सक्छौं । पुरानो वर्ष अवशान पछि रंगिने नया वर्ष एउटा उत्सवनै होकि जस्तो लाग्छ । किनभने नयावर्ष मानिसमा नवीन जोश, जांगर, खुशी, उमांग थपिदिने कार्य गर्छ । सायद त्यसैले होला हर्षोल्लासका साथ वनभोज पार्टीहरुको आयोजना गरेर धुमधामका साथ नयांवर्षको आगमनलाई स्वागत गर्ने गरिन्छ । सफलताका शुभकामनाहरु कार्डमा अभिव्यक्ति लेखेर हृदय साटासाट गरिन्छ । र यो एउटा सुनौलो अवसर पनि हो । यस्तो कार्य विश्वभर नै आफ्ना आफ्नै मुलुकले विभिन्न सीमा तोकेर मनाउदै आएकाछन् । यसरी नयां वर्ष मनाउने चलनको पनि मुलुक हेरेर आफ्नै खाले इतिहास र कथाहरु जोडेका हुन्छन । खास गरी विश्वमा इस्वी सम्वतलाई वढी प्रभावकारी ठहर्याइएकोले अंग्रेजी मिति अनुसार जनवरी एकलाई नया वर्षको थालनी सम्झन्छन् भने हाम्रो देश नेपालमा भने इस्वी सनलाई छोडेर विक्रम सम्वतलाई वैशाख महिनाको सुरु दिनलाई नया वर्षको रुपमा मनाउने चलन छ । त्यसो त २०४६ सालको प्रजातन्त्र प्राप्तिपछि आदिवासी जनजातिहरुले पनि आफ्नै सम्वतहरु उल्लेख गरेर वौद्धमार्गीहरुले ल्होसार, किरात लिम्वूहरुले येले तङवे आदि मनाउदै आएका छन् । मैले यहा उदाहरणको रुपमा मात्र पेश गर्न लागेको हुं । नेपालमा वहु जनजातिहरुको वसोवास हुदै आएको हुनाले सवैको आफ्नै खाले नया वर्ष रीत र चलन अनुसार उल्लासका साथ मनाउने गरिन्छ । त्यसरी आफ्ना आफ्नै नया वर्ष भएतापनि साझा नया वर्षको रुपमा भने वैशाखको उदयलाई मानिदै आइएको छ । नया वर्षको पहिलो महिना वैशाख जसको पाइलाले मेरो वास्तविक जीवनसंग प्रत्यक्ष साइनो गासेको छ । किन भने यही महिनामा मैले यस धर्तीमा पाइला टेकेको थिएं, आखा उघारेको थिएं । त्यसैले यो महिना प्यारो लाग्छ विशेष लाग्छ । मेरो जिन्दगीको ठूलो उत्सव दोहोरिए झैं लाग्छ । अरुलाई नया वर्ष उत्सव हुन नसक्ला तर मेरो भने जिन्दगीकै महान् उत्सव हो । हुन त सवैलाई आफू जन्मेको महिना हाम्फालेर आउदा मलाई जस्तै अवश्य नहुने होइन । सधै सधै वाचुञ्जेलसम्म वैशाख महिनालाई उत्सवकै रुपमा मनाइरहनु पाइरहु जस्तो लाग्छ । स्वागत गर्ने मौका मिलिरहोस् लाग्छ । यी त भए मेरा व्यक्तिगत मनसाय तर विगतमा नया वर्ष मनाएका क्षणहरुले यसपाली पनि भावनाभरि सुम्सुम्याई रहेको छ । त्यही पूरानो दिनमा आखाले खिचिराखेका अनुहारहरु कम्प्युरमा राखिएका चित्रहरु स्लाइड शो भए झै कल्पनाभरि स्लाइड शो हुन थाल्छन् । यदि स्लाइड शो भएका कल्पना चित्रहरु हेर्दा हेर्दै समयले डाडा काटीसक्दा पनि पत्तै हुन्न । संगैका साथीहरु कति वित्नु भयो होला कति मेरै आखा वरिपरि पनि हुनुहुन्छ । तर दिनहरु वित्दै जादा र वाध्यताका ढुंगाहरुले किच्दै लादा एउटै थालमा भान्सा गरेका साथीहरुलाई पनि भुसुक्कै भुलिदिन वाध्य हुनु पर्छ । नयां वर्षले भने सम्झनाको डायरी पल्टाएर विर्सिएका क्षणहरुलाई पुनः आलो वनाई दिन्छ । नया वर्षको आगमनले झस्काउदा यादहरु नवीकरण भएर मनभरि छचल्किरहन्छ । विरानो भै सकेको उत्साहहरु हामफाल्दै नजिक आइपुग्दा मनले अलिकति शीतलता पाउछ । अतीत वनिसकेका ती आवाजहरु कानैनेर गुञ्जिएको आभाषले त झनै सोचमग्न तुल्याइदिन्छ । ओहो ! ती क्षणहरु हिजै जस्तो लाग्छ । कलेजमा पाइला टेकेको, भेडेटारमा रमाउदै गीत गाउदै नाच्दै वनभोज खाएको कति रमाइलो थियो । सम्झी हेर्नुहोस् त । तपाईहरुलाई पनि आफ्नो विगतलाई मेरो इतिहास भन्दा साह्रै फरक पाउँनु हुन्नहोला ? अव पुरानो यादहरुलाई मात्र सम्झेर अवश्य भएन जीउनकोलागि हामीले नया वर्षसँग धेरै सम्झौताहरु आफन्तजनहरुले दिएको शुभकामना समेट्नु पर्छ । यदि मौकामा वाधेका योजनाहरुले जीवनमा साच्चै नै अगाडि वढ्नलाई घच्घच्याइ रहन्छ । एउटा लक्ष्यको महसूस पनि हुन्छ र त्यसलाई पूरा गर्नुपर्छ भन्ने भावना जागी रहन्छ । यदि तपाईसंग कुनै त्यस्तो खाले लक्ष्य छैन योजना छैन भने वर्षभरि अन्य वाहियात कुरामा अल्झिनु पर्छ । नयां वर्षले नयां योजनाको खाका तयार पार्ने संस्कार रहे गन्तव्यको लागि केही सरल हुन्छ नै तर तपाई हामीमा भने खासै चलन छैन ।नया वर्ष हाम्रो कार्य प्रगति र अवगतिको मापन जस्तै लाग्छ मलाई । हुन त आफ्ना आफ्नै खाले सोचाइ हुन्छन् त्यो अरुलाई नहुन पनि सक्छ । हाम्रो सोचाइमा नया वर्षको निर्जीव पात्रोले त्यस्तो के पो गर्ला भन्ने लाग्छ । तर त्यस्ले सम्पूर्ण समयको लेखा जोखा गर्छ । जीवनको घटनाक्रमहरु दर्ता गरिरहन्छ । यिनै घटनाक्रमलाई मूल्यांकन गर्दा हामीले के गरेछौं, के गरिरहेछौं भन्ने कुराको जानकारी हुन्छ । गुज्री सकेका समयक्रम आफ्नो जीवनमा कति सदुपयोग भयो भन्ने कसैले ख्याल गर्लान् कसैले नगर्लान ,त्यो नितान्तै व्यक्तिगत कुरा हो । तर पनि नया वर्षको अवसरलाई अंगाल्न सके झन सुनमा सुगन्ध होला कि भन्ने मेरो व्यक्तिगत धारणा हो । हामीलाई केही नगरेको अभाष भए पनि केही न केही गरिरहेकै हुन्छौं । तसर्थ प्रत्येक वर्ष नया साल वनेर आइरहन्छ वरु त्यही नया सालको प्रवाहसंग नया सोच ,लक्ष्य, गन्तव्यको शुरुवात गर्नु नै वुद्धिमानी कार्य हुन्छ । यस्तो सुनौलो अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी वहिनीहरुमा नव वर्ष २०६२ सालको हार्दिक शुभकामना ।

No comments:

Post a Comment