Friday, May 8, 2009

विचार

विचारलाई साधारण रुपले परिभाषा गर्दा मनन चिन्तन अथवा सोच नै भन्ने कुरा बुझीन्छ । तर यसलाई समालोचकीय दृष्टिकोणले विश्लेषण गर्ने हो भने अनेकौ अर्थहरु लाग्छन् । विचारलाई म वास्तवमा प्रष्ट विचारको रुपमा प्रस्तुत गर्न चाहन्छु किनभने प्रष्ट बिचारले मात्र सम्भावनाहरु धेरै बोकेका हुन्छन् । हरेक दिन भावनामा टुसाउँने कलिला विचारहरुलाई सहि र साँचो ढङ्गले मूर्त विचारको रुपमा उभ्याउँन सधै र्इच्छा जागेर आउँछ । र त्यसलाई राम्रो बिचार बनाउँनको लागि धेरै चिन्तन मनन् गर्न थाल्छु । तर यसरी चिन्तन मनन् गर्दा पनि कहिले कहि विचारहरु फोस्रो सोच भएर हराउँछन् । मिथ्या कल्पना जस्तै मात्र वनेर जान्छन् । मानौ मंसीरको दाईंमा धानको थुप्रोबाट नाङलोले भूस हम्काएर उडाए जस्तै । तर कुनै न कुनै प्रकारको बिचारले एउटा स्वरुप लिन्छ मस्तिष्कमा तव त्यहि विचारसँग सम्मोहित भैदिन्छु । जस्ले निश्चित निष्कर्षका कुराहरु सोच्न बाध्य तुल्याउँछ । साधारण खालको बिचार किन नहोस् कटिवद्ध लाग्न आव्हान गर्छ । र ती विचारहरुलाई लक्ष्य बनाउँन तम्सदा हृदयको कुनामा शंका उपशंकाहरु रोपीन्छन् । किनकि मेरो जस्तो साधारण विचारलाई कस्ले अनुशरण गरि देला भनेर । तर पनि हरेक दिनमा नुतन विचारहरु जन्मेकै हुन्छन् । तिनै बिचारहरुले र्स्पर्श गर्दा मनहरु त्यसै झंक्रित भैदिन्छन् । विचार जस्तोसुकै भए पनि अन्तर लक्ष्य हो । बिचारले अङ्गाल्दा हुने मानसिक विचलन अरुलाई पनि हुन्छ कि भनेर जान्न मेरा एक घनिष्ट मित्रसँग छलफल गर्ने विचार गरे । अचानक उहि मित्रसँग भेट हुँदा उनले नै विचारका कुराहरु वीजारोपण गरे । जस्ले गर्दा बिचारलाई प्रस्तुत गर्न अजिङ्गरको आहारा दैवले जुराउँछ भने झै भयो । आफूले जानेका र सोचेका विषयलाई तेर्स्याउन सजिलो भयो । तर्सथ विचार भनेको के हो त - भनेर सोध्ने मौका उम्काइन । मेरो प्रश्नले साथीलाई केहिक्षण निधार खुम्च्याउन वाध्य गरायो । उनको चम्किलो मुहार देखेपछि म निक्कै आशावादी भए । किनभने विचारको कुराले अन्य नयाँ बिचार जन्मने छेकछन्द देख्न थाले । अन्तत उनले बिचारको परिभाषा दिदै फाइदा र वेफाइदा सम्मका कुरा निकाले । त्यसपछि मलाई थाहा भयो कि विचार साधारण होस् या महान त्यो वास्तवमा आफ्नै प्रकारको महत्व हुन्छ । तसर्थ विचारका विषयलाई वहसमा ल्याउँन निक्कै लालायित भए । किनभने कार्ल मार्क्स ,भ्लादीमीर लेलिन,माओ,सुकरात,फ्रायड,डेरीडा आदी बिचारकहरु सुरुमा अवश्य पनि प्रकाण्ड विद्वान थिएनन् हामी जस्तै साधारण नै थिए । उनीहरुले आफ्नो बिचारलाई समयसापेक्ष विश्लेषण गर्दै अगाडी बढी रहे जस्ले गर्दा आज उनीहरुको बिचार माननिय भएको छ । यसरी बिचारमा महत्वकांक्षा र प्रेरणा भयो भने त्यसले मानिसको जीवनलाई ठुलो सहयोग पुर्‍याउँदछ । विचारलाई बिचारको रुपमा उभ्याउँन विचारका राम्रा पक्षहरु जान्न जरुरी हुन्छ । अथवा बिचारलाई बहुपक्षले सोच्नु पर्दछ । त्यसैले होला विचारका विचारणीय कुराहरु जान्नको लागि पुस्तकालय धाउँने गरेको छु जहाँ बिचारका ठेलिहरु राखिएका हुन्छन् । त्यहि बिचार जान्न विभिन्न सभागोष्ठी देखि र्सवसाधारणको भेला सम्म पुग्ने गरेको छु । जहाँबाट विचारलाई अलिकति भए पनि विशुद्ध चिन्तनमा परीणत गर्न सकुँ भनेर । हरेकले लिएको बिचार प्रष्ट रुपले समाजमा आउँन नसक्दा अन्तरसोच मात्र बन्न पुगेको हो । विचारलाई आविष्कारले जोडेर वैज्ञानिकता तुल्याउँनु वास्तवमा चानचुने कुरा अवश्य होइन ।
विचार भनेको कुनै योजनाको अवधारणा जस्तै हो । यो देशसँग जोडिएको हुन्छ देश भित्रको समाज र मान्छेहरुसँग प्रत्यक्ष गासीएको हुन्छ । हामी सोच्छौ विचार महान व्यक्तिले मात्र लिनर्ुपर्छ तर विचार हरेकले लिनु पर्छ । किनभने बिचारले व्यक्तित्व देखि व्यावहार सम्म जोडेको हुन्छ । विचारले नै देशलाई माथी पुर्‍याएको हुन्छ । हरेक देशमा बिचारकहरुले समाजको दुर्गति हटाउँन सोच्ने गरेका छन् । एकताका कुरौटे दार्शनिक सुकरातलाई ग्रीसका मानिसहरुले पागल भनेका थिए । उनी सत्यको पक्षमा सधै कुर्लन्थे वकालत गर्थे यहि देखेर मानिसहरुले पागल सम्झेका हुन् । वास्तवमा उनी पागल थिएनन् महान बिचारक थिए दार्शनिक थिए । त्यसैले सुकरातलाई सत्यको प्रतीकको रुपमा लिने गरिन्छ । सत्यको अस्तित्व कहिल्यै समाप्त हुदैन । विचार सधै सत्य र साश्वत हुन्छ । यदि मानिसमा दुरदर्शि विचार भएनन् भने समाज सभ्यता तिर लम्कन सक्दैन । आजसम्म हामीले हि“डेका वाटाहरु कुनै न कुनै विचारले प्रेरित छन् । र प्रेरित हुनु पर्छ । विचार एउटा पथ भएकोले हिड्न हामीलाई सजिलो गराउँदछ । त्यसैले बिचारहरु पछ्याई रहेका हुन्छौं । विचारले अद्भूत कुराको सिर्जना गर्छ र त्यसले रमणीय संसारको आभा भर्दछ । विचारले सिर्जना मात्रै गर्दैन त्यसले संहार पनि गरेको छ । पहिलो र दोश्रो विश्वयुद्ध यिनै बिचारहरुको वैमान्यस्यताले निम्त्याएका हुन् । विचारलाई सहि सदुपयोग नगर्दा बिचारले नै दुर्घटना वा दुर्गति निम्त्याउँछ । जसले निर्दोष मानिसहरुको जीवनलाई लुटि रहेको हुन्छ । समयको कालचक्रले निम्त्याएको भयानक पलहरु भनेका वेग्लै पक्ष हुन् । मानव,पशुप्राणी र वनास्पति सवै प्रकृतिको नियन्त्रणमा हुन्छ । तर मानिसहरुले प्रकृतिलाई नियन्त्रणमा लिन खोज्दा ठुल्ठुला दुर्घटनाहरु भएका छन् । आज पनि हामी युद्ध व्यहोरी रहेकाछौं । ती सवै विचारहरुको रङ्ग नमिल्नुले हो । वास्तवमा विचारले नै युद्ध र शान्तिको दुर्इ पाटा वोकेको हुन्छ । हामीले लिनु पर्ने विचार भनेको सकरात्मक बिचार हो । विचारले सही बिचारहरुको पहिचान गरेर त्यसको हातेमालोमा उनीनु उचित हुन्छ । विचारले दुर्गति निम्त्याएको अव कसैले हेर्न चाहदैनन् । हरेक मानिसलाई साङलो र स्पष्ट विचारको आवश्यकता छ । समाजको स्वरुप बदल्नको लागि यस्ता उच्च विचारहरु फलदायी हुन्छन् । सहयोगी विचारले मात्र देश र जनताको स्थिति बलियो बनाउँदछ । सहि सत्य बिचार लिएर अगाडी बढ्नु नै मानव धर्म हो ।

Wednesday, April 29, 2009

२०६२ सालको नयाँ वर्ष

प्रत्येक सालको चैत्र मसान्तपछि नया वर्ष वैशाख एक गते वनेर टुप्लुक आई पुग्छ । कसैले त्यसलाई वोलाइ रहनुपदैन, अनायसै हाम्रो व्यस्ततालाई चिरेर नया पात्रोमा नयां वर्ष छाइदिन्छ । वोट विरुवाहरुको नांगो शरीरमा पालुवा भएर हरियाली छाएको प्रत्यक्ष देख्न सक्छौं । पुरानो वर्ष अवशान पछि रंगिने नया वर्ष एउटा उत्सवनै होकि जस्तो लाग्छ । किनभने नयावर्ष मानिसमा नवीन जोश, जांगर, खुशी, उमांग थपिदिने कार्य गर्छ । सायद त्यसैले होला हर्षोल्लासका साथ वनभोज पार्टीहरुको आयोजना गरेर धुमधामका साथ नयांवर्षको आगमनलाई स्वागत गर्ने गरिन्छ । सफलताका शुभकामनाहरु कार्डमा अभिव्यक्ति लेखेर हृदय साटासाट गरिन्छ । र यो एउटा सुनौलो अवसर पनि हो । यस्तो कार्य विश्वभर नै आफ्ना आफ्नै मुलुकले विभिन्न सीमा तोकेर मनाउदै आएकाछन् । यसरी नयां वर्ष मनाउने चलनको पनि मुलुक हेरेर आफ्नै खाले इतिहास र कथाहरु जोडेका हुन्छन । खास गरी विश्वमा इस्वी सम्वतलाई वढी प्रभावकारी ठहर्याइएकोले अंग्रेजी मिति अनुसार जनवरी एकलाई नया वर्षको थालनी सम्झन्छन् भने हाम्रो देश नेपालमा भने इस्वी सनलाई छोडेर विक्रम सम्वतलाई वैशाख महिनाको सुरु दिनलाई नया वर्षको रुपमा मनाउने चलन छ । त्यसो त २०४६ सालको प्रजातन्त्र प्राप्तिपछि आदिवासी जनजातिहरुले पनि आफ्नै सम्वतहरु उल्लेख गरेर वौद्धमार्गीहरुले ल्होसार, किरात लिम्वूहरुले येले तङवे आदि मनाउदै आएका छन् । मैले यहा उदाहरणको रुपमा मात्र पेश गर्न लागेको हुं । नेपालमा वहु जनजातिहरुको वसोवास हुदै आएको हुनाले सवैको आफ्नै खाले नया वर्ष रीत र चलन अनुसार उल्लासका साथ मनाउने गरिन्छ । त्यसरी आफ्ना आफ्नै नया वर्ष भएतापनि साझा नया वर्षको रुपमा भने वैशाखको उदयलाई मानिदै आइएको छ । नया वर्षको पहिलो महिना वैशाख जसको पाइलाले मेरो वास्तविक जीवनसंग प्रत्यक्ष साइनो गासेको छ । किन भने यही महिनामा मैले यस धर्तीमा पाइला टेकेको थिएं, आखा उघारेको थिएं । त्यसैले यो महिना प्यारो लाग्छ विशेष लाग्छ । मेरो जिन्दगीको ठूलो उत्सव दोहोरिए झैं लाग्छ । अरुलाई नया वर्ष उत्सव हुन नसक्ला तर मेरो भने जिन्दगीकै महान् उत्सव हो । हुन त सवैलाई आफू जन्मेको महिना हाम्फालेर आउदा मलाई जस्तै अवश्य नहुने होइन । सधै सधै वाचुञ्जेलसम्म वैशाख महिनालाई उत्सवकै रुपमा मनाइरहनु पाइरहु जस्तो लाग्छ । स्वागत गर्ने मौका मिलिरहोस् लाग्छ । यी त भए मेरा व्यक्तिगत मनसाय तर विगतमा नया वर्ष मनाएका क्षणहरुले यसपाली पनि भावनाभरि सुम्सुम्याई रहेको छ । त्यही पूरानो दिनमा आखाले खिचिराखेका अनुहारहरु कम्प्युरमा राखिएका चित्रहरु स्लाइड शो भए झै कल्पनाभरि स्लाइड शो हुन थाल्छन् । यदि स्लाइड शो भएका कल्पना चित्रहरु हेर्दा हेर्दै समयले डाडा काटीसक्दा पनि पत्तै हुन्न । संगैका साथीहरु कति वित्नु भयो होला कति मेरै आखा वरिपरि पनि हुनुहुन्छ । तर दिनहरु वित्दै जादा र वाध्यताका ढुंगाहरुले किच्दै लादा एउटै थालमा भान्सा गरेका साथीहरुलाई पनि भुसुक्कै भुलिदिन वाध्य हुनु पर्छ । नयां वर्षले भने सम्झनाको डायरी पल्टाएर विर्सिएका क्षणहरुलाई पुनः आलो वनाई दिन्छ । नया वर्षको आगमनले झस्काउदा यादहरु नवीकरण भएर मनभरि छचल्किरहन्छ । विरानो भै सकेको उत्साहहरु हामफाल्दै नजिक आइपुग्दा मनले अलिकति शीतलता पाउछ । अतीत वनिसकेका ती आवाजहरु कानैनेर गुञ्जिएको आभाषले त झनै सोचमग्न तुल्याइदिन्छ । ओहो ! ती क्षणहरु हिजै जस्तो लाग्छ । कलेजमा पाइला टेकेको, भेडेटारमा रमाउदै गीत गाउदै नाच्दै वनभोज खाएको कति रमाइलो थियो । सम्झी हेर्नुहोस् त । तपाईहरुलाई पनि आफ्नो विगतलाई मेरो इतिहास भन्दा साह्रै फरक पाउँनु हुन्नहोला ? अव पुरानो यादहरुलाई मात्र सम्झेर अवश्य भएन जीउनकोलागि हामीले नया वर्षसँग धेरै सम्झौताहरु आफन्तजनहरुले दिएको शुभकामना समेट्नु पर्छ । यदि मौकामा वाधेका योजनाहरुले जीवनमा साच्चै नै अगाडि वढ्नलाई घच्घच्याइ रहन्छ । एउटा लक्ष्यको महसूस पनि हुन्छ र त्यसलाई पूरा गर्नुपर्छ भन्ने भावना जागी रहन्छ । यदि तपाईसंग कुनै त्यस्तो खाले लक्ष्य छैन योजना छैन भने वर्षभरि अन्य वाहियात कुरामा अल्झिनु पर्छ । नयां वर्षले नयां योजनाको खाका तयार पार्ने संस्कार रहे गन्तव्यको लागि केही सरल हुन्छ नै तर तपाई हामीमा भने खासै चलन छैन ।नया वर्ष हाम्रो कार्य प्रगति र अवगतिको मापन जस्तै लाग्छ मलाई । हुन त आफ्ना आफ्नै खाले सोचाइ हुन्छन् त्यो अरुलाई नहुन पनि सक्छ । हाम्रो सोचाइमा नया वर्षको निर्जीव पात्रोले त्यस्तो के पो गर्ला भन्ने लाग्छ । तर त्यस्ले सम्पूर्ण समयको लेखा जोखा गर्छ । जीवनको घटनाक्रमहरु दर्ता गरिरहन्छ । यिनै घटनाक्रमलाई मूल्यांकन गर्दा हामीले के गरेछौं, के गरिरहेछौं भन्ने कुराको जानकारी हुन्छ । गुज्री सकेका समयक्रम आफ्नो जीवनमा कति सदुपयोग भयो भन्ने कसैले ख्याल गर्लान् कसैले नगर्लान ,त्यो नितान्तै व्यक्तिगत कुरा हो । तर पनि नया वर्षको अवसरलाई अंगाल्न सके झन सुनमा सुगन्ध होला कि भन्ने मेरो व्यक्तिगत धारणा हो । हामीलाई केही नगरेको अभाष भए पनि केही न केही गरिरहेकै हुन्छौं । तसर्थ प्रत्येक वर्ष नया साल वनेर आइरहन्छ वरु त्यही नया सालको प्रवाहसंग नया सोच ,लक्ष्य, गन्तव्यको शुरुवात गर्नु नै वुद्धिमानी कार्य हुन्छ । यस्तो सुनौलो अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी वहिनीहरुमा नव वर्ष २०६२ सालको हार्दिक शुभकामना ।

सन् २००६ को फागुपूर्णिमा

फागु पूर्णे अथवा फागु पूर्णिमाको दिन अन्य सालहरु झै दोहोरिएर आउछ । कता हो कता म सानो छदाको याद र कलेज जीवनमा विताएका धरानको याद एकै पटक वावियोको डोरी वाटिए झैं वाटिएर आउछ । यसको महत्व नेपालमा परम्परा कालदेखि नै रहेको कुरा विभिन्न इतिहासकारहरुले आ-आफ्नो कृतिहरुमा लेखेको पाइन्छ र यसलाई चाड कै रुपमा मनाउने गरिन्छ । खास गरी पहाडी क्षेत्रमा भन्दा तराई प्रदेशमा धुमधामसंग एकले अर्कालाई अविर दलेर खुशीयाली मनाइन्छ र मनाइदै आइएको छ । आजकलका युवा युवतीहरु पहिले भन्दा अलि फरक ढंगले रंगलाई घोलेर प्लाष्टिकको झोलामा वांधेर गोलाको रुपमा प्रहार गर्ने गर्छन् भने अर्कोतिर पिचकारी वनाइ छ्याप्ने काम पनि गरिन्छ । फागु पूर्णेको दिनैभरि यस्तो कार्य भइ नै रहन्छ । यसपाली वावियोको डोरी झै बाटिएर आउने याद ज्वलन्त भएर आयो । किनभने हङकङमा परदेशीए पछि फागुपूर्णे कहिले आउछ भन्ने कुराको हेक्का नै हुन्नथ्यो । कसै हेक्का लिने साथीहरुले आज फागुपूर्णेको दिन भन्थे । तर यो ठाउमा यसको महत्व हुन्न भन्ने हेतुले थाहा पाए पनि ए... भन्ने मात्र हुन्थ्यो । त्यही विर्सिएको फागु पूर्णिमाको दिन घरकै मान्छेले अवीर ल्याएर थाहै नपाइ दलिदिएपछि पो थाहा भयो आज फागु पूणिर्माको दिन रहेछ । एकछिन सोचे वुढेसकालमा वैशै चढेछ घर मुलीको । फेरि सोचे त्यो भन्नु त गलत पो रहेछ । निधारमा अवीर नदलेको ढेड दशक भइसक्यो वैंशले पनि आफ्नो यात्रा ओराली लाइसक्यो रमझम त हुनै पर्यो नि भन्ने सोचेर यसो मैले पनि अवीर दल्न खोज्दा अवीरै छैन । औपचारिकता पूरा गर्नलाई एक चिम्टी ल्याएकी रहेछिन् पूर्व प्रेमीले । अवीर जात्रा त भयो नै तर मेरो मन भनेर स्थिर रहन सकेन । एकाएक पहाड क्षयको पुरानो सम्झनाको फायलहरु पल्टाउन थाल्यो म त्यसै चौध पन्ध्र वर्षमा थिए त्यसवेला मेरो ठूल्दाइ र म उसका साथीहरु लक्का जवान थिए । फागुपूर्णिमाको दिनमा मायालुहरुसंगको भेट्ने वाचा हुन्थ्यो होला, हुन्थ्यो नै किनभने म पढ्ने स्कूल नजिकै हुलाक थियो । प्रत्येक साल हुलाकीको हातवाट चिट्ठी ल्याइदिन्थे । त्यो दिन विहानैदेखि खुशी हुन्थे । मलाई त्यस्को वास्ता हुदैनथ्यो । हाम्रो घरवाट करीव एक घण्टा हिडे पछि मेला लाग्ने ठाउ आउथ्यो । शायद त्यही भेट्ने लेखिएको हुन्थ्यो होला चिठीमा त्यो उनीहरुलाई मात्र थाहा हुने कुरा हो । चिठी पढ्दै गरेको वेला गयो भने काम अह्राइ हाल्थे । आखिर एकदिन दाइले .लुकाइ राखेको चिठ्ठी चोरी दाउमा हेरेको छु । खासै केही थिएन । सोल्टिको सम्वोधनमा लेखिएको चिठ्ठीमा फागुपूर्णिमाको साझ भेटौं भन्ने थियो । हुन त पर्खाइमा वस्ने दाइहरुलाई त फागुपूर्णिमा कहिले आउला जस्तै लाग्थ्यो होला । त्यो त भुक्तभोगीहरुलाइ थाहा हुने कुरा हो । दाइहरु पूर्णिमाको दिन दिउसोभरि हलो कोदाली गरेर सांझ राको वाले र मेलातिर जान्थे । रातभरि मायालुहरुसंग प्रेम साटेर विहान सवेरै काम गर्न आइपुग्थे । यो हो मेरा दाइहरुले विताएका फागुपूर्णिमा , प्रतीक्षामा आइपुगेको पूर्णिमा । तर मेरो पालाको कथा भने वेग्लै छ । म माध्यमिक तहमा अध्ययन गर्दा फागुपूर्णिमाको दिनलाई होली भन्थे । प्रायः विहारीहरु एक एक वाल्टिमा रंग घोलेर अर्का चिने जानेकालाई पूरै खन्याएर नुहाइ दिन्थे । रमीते भएर खुवै हेरिन्थ्यो । रंगले लाग्ला कि भनेर टाढा भागिन्थ्यो । यो त भयो माध्यमिक तहमा हुदाको कुरा । माध्यमिक तह नाघेर जव कलेजकोलागि धरान पुगियो, अनि कुरा अर्कैतिर मोडियो । मलाई थाहा थिएन धरानमा त्यसरी फागु खेलिन्छ भनेर । खेल यसरी शुरु हुन्थ्यो डेरा लिएर वसेपछि डेरा वरिपरिका मान्छेहरु त अवश्य चिनिने नै भयो । त्यो अलि अलि चिनजान फागु पूर्णेको दिन पूरै चिनजान भए सरह हुन्छ । किनभने विहानै वाल्टिनका वाल्टिन रंग घोलेर छ्याप्न थाले पछि आफूले पनि वाँकी राख्ने कुरै भएन । ओहो अन्तत ज्यानै छोडेर रंग छ्याप्ने काममा लिप्त होइन्थ्यो । दिनभरि रंग दलिएर डेरा फर्कदा लुगा पनि रंगले विग्रिसकेको हुन्थ्यो भने अनुहार पनि ढेडु वादरको जस्तै हुन्थ्यो । रंग मात्रै लगाइदिए त हुन्थ्यो नि कोही कोहीले मोविल नै दलिदिएर वर्वाद वनाउथ्यो । जे होस् दिनभरि होली खेलेर धरानमा फागु पूणिैमा मनाएको थिएं । होली त खेलियो अव भोलिपल्ट मात्र होइन अरु दुइ दिन कलेज जानै वन्द । किन भन्नुहोस न्ँ जति नुहाए पनि रंग नगए पछि ढेडुको जस्तो अनुहार लिएर क्लास जाने कुरै भएन । लुगाको त सर्वनास नै हुन्थ्यो। अनुहारमा लागेको रंग जान लगभग एक हप्ता लाग्थ्यो । त्यो दिन सम्झदा हिजो अस्तिकै होली पूणिर्मा जस्तो लाग्यो । तर समयले भने डेढ दशक नाघि सकेछ । मलाई भने अतीतले उडाएर त्यही पुरानो ठाउमा पुर्यायो सोच्छु अव कहिले वाल्टिनका वाल्टिन रंग घोलेर वैशमा झैं फागु पूर्णिमा खेल्न पाइन्छ होला भनेर । त्यो त भूतकाल भइसक्यो वर्तमान वेग्लै छ । भन्दा पनि मेरी आफ्नै श्रीमतिले निधारभरि अवीर दलेर फागुपूर्णिमाको याद दिलाईन् । यसपाली अवीर नभएर दल्नै पाइन । एक त फागु पूणिर्मा यादै भएन त्यसैले मसंग रंगै थिएन । जे होस् हङकङमा सन् २००६ को होली मज्जैले खेलियो ।

वुझ्नु र नवुझ्नुमा जीवन

जीवन जीउनको लागि हरेक मान्छेले आ -आफ्नै खाले समय र परिस्थितिसंग सम्झौता गर्नुपर्नेहुन्छ नचाहेर पनि । यदि कसैले त्यो क्षणहरु संग कुनै प्रकारको सम्झौता गर्न चुक्यो भने उसको जिवन केही न केही वर्वादीका पलहरुले आकस्मिक आक्रमण गर्न सक्छन् । उक्त आक्रमणवाट पुनः यथास्थितिमा तग्रीनकोलागि मानसिक रुपमा घाइते हुनु त पर्छ नै । त्यो भन्दा पनि ठूलो आर्थिक क्षति र भौतिक प्रतारणा व्याहोर्नु पर्नेहुन्छ । तर्सथ हरेक कामको लागि विवेक आवश्यक हुन्छ । विवेक भएर मात्र पनि हुदैन त्यसलाई सही ढंले उपयोग गर्दै लग्यौं भने वांच्नको लागि केही सुलभ पक्षहरु देखा पर्दै जान्छन् । प्रत्येक क्षण समस्याहरु मानिस सम्मुख भएर उत्पनिनु त्यो कुनै नौलो कुरो होइन । तर त्यसलाई सावधानी पूर्वक लग्नु भने कर्तव्य नै ठहरिन्छ । संसारमा मानिस अन्य प्राणीहरु भन्दा सर्वश्रेष्ठ भएकै हैसियतले कठोर भन्दा कठोर अवस्थालाई सहजै कुल्चदै जानु मानवीय लक्ष्य पनि हो । किनकि अन्य प्राणीमा कुन कठोर र हुन सहज भन्ने अनुभूति हुदैन । भय भए अलिकति भोक र मृत्युको हुन्छ । चेतना वोधकै कारण मानिस आफ्नो प्रसायमा सफल भएको छ । हुन त कति प्रयासहरु विफल पनि नभएका होइनन्। तर हुदा सम्म र गर्दा सम्मको सफलताले यो उत्तर आधुनिक समय व्यतित गर्न पाइरहेका छौं। कतिपय मानिसको सपना विशाल रुपले फैलदा तुहेर गएको देखेका छौं । सपना जो देख्छौ त्यो एक प्रकारले समस्या पनि हो । किनभने त्यही सपना साकार पार्नको लागि अनेकौं उपायहरु जन्माउछौं । उपायलाई उपाय नै वनाउन भने हरेक दुःख कष्टहरु व्यहोर्दै जानुपर्छ नत्रभने त्यो केवल कल्पना मात्र वन्न पुग्छ । प्रत्येक मान्छेलाई उन्मुक्त हुन मनलाग्छ आफ्नो व्यवहारिक लान्छनाहरु पन्छाएर । तर तारको तार आउने साना ठूला विपत्तिहरुले कहांपो उम्कन दिन्छ र ? कहिले काही त उराठै लाग्ने गरी थुप्री दिन्छन् सोच्नै नसोचेका समस्यारुपी ढुंगाहरु ।यी हरेक वस्तुस्थितिलाई नियालेर हेर्दा लाग्छ । मान्छे मात्र दास हो समयको । धर्तीमा पाउ राखेदेखि वर्तमान क्षणसम्म उमेर थप्दै जिवन रथ यहां सम्म ल्याइपुर्याएका छौं। जहां सम्म आएका छौ तर यहासम्म आउनलाई कहां सजिलै भएको हो र ? कति वाध्यतासंग किचिएर हो भने कति परिस्थिति संग थिचिएर हो । वितेको पल त आखिर अतित नै भइसक्यो तर आगत समयको आकृति भने कस्तो हुन्छ भन्ने चाहि मात्र गर्न सक्छौं अन्दाज । साचै भन्ने हो भने भविष्य भन्ने कस्ले पो ठोकुवा गर्न सक्छ र ? अतितलाई नभुलौ भन्दा पनि भुल्नै पर्छ नया दिनहरुको आगमनले । हामीमा हुने आभाष पनि त्यसरी नै परिवर्तित हुदै जान्छन्। यदि यि सव कुराहरु नस्वीकारु त्यो हुदै हुदैन, स्वीकारुं जिन्दगीको खेल अरु जटिल वन्दै जान्छ । हरेकले खेल्दै जानुपर्ने यो जोखिमपूर्ण खेल कहांपुगे र अन्त हुन्छ ।त्यो पनि कसैलाई थाहा हुन्न तर नाई भन्न पाइन्न वाचुन्जेल । लाग्छ कहिले काही खेल भोग्नलाई होइन मात्र खेल दुनियालाई प्रदर्शन गर्न आइएछ भनेर । संसारका तमाम मान्छेहरु अक्सर जिवनवाट स्वतन्त्र कतै भाग्न चाहान्छन् तर चाहे अनुरुप कहांपो भाग्न सकेकाछन्।वढ्ता भए केही दिनको छुटिमा त्यो भन्दा वढी केही हुन सक्दैन । सके जोगी होला तर जोगीलाई पनि मागेर पेट भर्नुको पीर त हुन्छ नै अन्य पीर नभए पनि । मान्छेको इन्द्रियले समय भन्दा चाडै कतै पुगुं लाग्छ तर समयले पछारी राखेकै हुन्छ वारम्वार।हुन त यो समय भन्ने कुरा नै के हो थाहा छैन । तर समय नामाकरणले हामी त्यसलाई अनुभूत गर्ने गर्र्छौ त्यही होकि भनेर।त्यो नहुन पनि सक्छ विश्वास मात्र हो हाम्रो। विहानदेखि साझ सम्मको दिन र साझ सम्मको पललाई रात भनेर वुझ्दछौं।अथवा समयको हिसावमा वाह्रघण्टाको रात र वाह्रघण्टाको दिन वास्तवमा यो वुझाई नै हाम्रो आधार हो ।त्यो नहुन पनि सक्छ तर त्यसालाई मानी दिन्छौं ।मान्नु नै त्यो अवस्थालाई स्वीकार गर्नुहो ।जव हामी कुनै कुरा स्वीकार गर्छौ त्यो नै हाम्रो मानक वन्छ ।यथार्थमा जिउने क्रमलाई घिस्याउने पार्टपूर्जाहरु तिनै हुन कि जस्तो भान हुन्छ कहिलेकाही ।वास्तवमा तिनै पनि हुन् ।यी व्यहोर्नु र भोग्नुपर्ने अवस्थाहरु नआउनु ,नहुनु र नदेखिनुहो भने महसूस भन्नेकुरा नै हुदैन ।महसूस नभएपछि मैले के गरे कसोगरे भन्ने कुराको हेक्का हुदैन तसर्थ मानिसकोलागि त्यो सोचमा झुडिण्नु कदापि सार्थकता ठहरिदैन ।सार्थकताको लागि जे परेपनि जस्तो सुकै आघात भोग्नु परे पनि हासी हासी अघि वढ्नु प्रेरणादायी हुन्छ ।जस्ले अरुले ती क्षणहरुवाट मुक्ति पाउन केही मद्दत पुग्दछ ।यस्तो कुराको प्रभावले मानिसमा आत्मावलको सृजना हुन्छ जसले गर्दा जिवन निरन्तरतामा नया रंग नया आभासको संगीत गुन्जन पुग्दछ ।तव क्रियाशीलता प्रभावकारी भएर कोही के कोही के वन्न पुग्दछ ।यहि कृयाशीलतामा मान्छेले जिवन भन्ने कुराको परिचय पाउछ ।र त वोल्नुमा भन्दा गरेर देखाउनुमा विश्वास गर्दछ । आज जो हामी गरिरहेछौं त्यो हिजोको भन्दा कैयौं गुणा फरक छ किनभने त्यो गतिशील समयको उपज हो । जसलाई गतिशीलताको महत्व हुन्न त्यसलाई त्यो उपलव्धिको आभाष साथै महत्व पनि हुन्न ।यी सारा त्याग्नेलाई साचै भन्ने हो भने जिवन कै मोह पनि हुदैन ।वास्तवमा तिनीहरु नै जिवनको सम्पूर्णता चाहान्दैनन् वीचै सुनौलो जिन्दगी त्यागिदिन्छन् ।कठोर र सहज भन्ने चाहेर हुने कुरा पनि होइन आफसेआफ जन्मदै हुर्कदै जाने परिस्थितिहरु हुन्। यसलाई जिवसंग हुत्याउदै लैजादा भागवण्डा गरे जस्तो कसैलाई शुख कसैलाई दुःख पर्नजान्छ भाग्यमा ।अनि व्यर्थै दोष्न पुग्छौ कर्मलाई र ठोक्न थाल्छौं पुरपुरोलाई ।पर्नेलाई पनि विधाताले त्यस्तै पारिदिए जस्तो महसूस भइदिन्छ ।किनकि कसैलाई वाचुञ्जेल सुखै सुख कसैलाई दुःखै दुःख पक्षपात गरे जस्तो देखिन थाल्छ ।यसो हुनुमा समय परिस्थितिको पनि खेल हुन सक्छ । उदाहरणको लागि पहिले सुख पाउने कोहि पछि गएर दुख पनि पाएका छन् भने दुखी मान्छे पनि सुखी भएको हाम्रै आंखाले देखेका छौं । भाग्लाई दोष्नुमात्र पनि गलत हो किनकि अन्य वस्तु परिस्थितिको पनि प्रत्यक्ष असर त छ नै। जो भोगाइमा गौण रहन्छ । त्यसलाई दोषको रुपमा लिदैनौं। साचै भन्नेहो भने जीवन पाएर पनि केही नपाए जस्तो भान हुन्छ । यो संसारमा हरेक कुरा छ तर त्यो आफ्नो वसमा छैन केवल मात्रै छ भन्नु,सुन्नु र देख्नुमा सायद त्यसैले होला आज भोलि मलाई के लाग्छ भने एक मनले जीवन वुझ्नु भन्दा नवुझेकै राम्रो जस्तो । यहां जीवन वुझ्नुले हरेक झन्झट,मोह,इर्ष्या,प्रेम,द्धेष,लोभ लालच आदि कुराहरु निर्वाधरुपले निम्त्याएकोछ । यस्तोपनि लाग्छ जीवन नवुझिएको भए कति आनन्द होला भनेर । संसारमा देखिने भोगिने कुराको चासोमात्र होइन महत्व समेत हुन्नथ्यो होला । मात्रै जीवन जीवन जस्तै हुन्थ्यो। लाग्छ वुझ्नेको मात्र जीवन नभएर नवुझ्नेको पनि वास्तवमा जीवन जीवन नै हो । मात्र फरक वुझ्नु र नवुझ्नुमा छ ।

म र मेरो कलम

डेढ दशक अगाडी विदेशतिर हुर्इकिँदा यी हातहरुले कलम समातेर सिर्जना गर्न पाईएला भन्ने सयमा एक प्रतिशत पनि सोचेको थिईन । सोच्नु पनि कसरी ? परदेशमा पाईला टेकेपछि जे पर्ला सोही टर्ला भन्ने हेतुले हिडिएको हुन्छ । फेरि साहित्य सिर्जना जस्तो गहन कुरा वास्तवमा चानचुने विषय वस्तु अवश्य होइन । त्यसैले कहिले कही आकाशको फल आँखा तरी मर भन्ने उखान सो सरह होला कि जस्तो लाग्थ्यो साहित्य निर्माणका कुरा । किनभने साहित्य जन्माउनको लागि समय,परिस्थिति र त्यस्तै खाले महौलको आश्यकता पर्दछ । केहि कथम यी कुराहरु मिल्न गए पनि मानसिक रुपले तयार हुन सकिएन भने त्यो वालुवाको महल ठड्याउँनु वरावर नै हुन्छ । अर्को कुरा के भने परम्परा, संस्कार, रीतितिथि, भाषा, भेष-भुस्सा र दिनचार्याले पनि लेखनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले तुरुन्तै कलम समाई हाल्न कठिन नै पर्दछ । आदि इत्यादि कुराहरुसँग घुलमेल हुनुमा नै समय त्यसै खर्चिनु पर्ने हुन्छ । यिनै वास्तविक कारणहरुले गर्दा साहित्य सिर्जनाको आशा गर्नु झन ल्हासाको सुन वरावरी ठहरीन्छ । सिर्जना गर्नको लागि हरेक कुराको चाँजो पाँजो मिल्नु जरुरी हुन्छ अनि मात्र परदेशमा लेख्नुको मेलोमेसो तयार हुदै जाने कुरा हो । यस्तो प्रकारको परिस्थिति व्यहोर्नु हुने लेखकहरुलाई ज्ञान भएकै हुनुपर्दछ लेख्न कति कठिन कार्य हो भनेर । हङकङमा पाईला टेकिन्जेल सम्ममा साहित्य र कलमसँगको मितेरी साइनो झण्डै दन्त्यकथामा परीणत हुन लागेको थियो । तर यहाँ त मैले सोचे भन्दा ठिक विपरीत साहित्यको सागरमा पौडिने थुप्रै कलमकर्मीहरुसँग साक्षातकार हुने मौका पो मिल्यो । सोही परिस्थितिले मेरो लेखन यात्रामा पुन उर्जा थपीएको आभास हुन थाल्यो । त्यसवेला मैले आफैलाई धन्य सम्झे किनकि वथान हराएको प्राणीले धेरै दिनपछि आफ्नो वथान भेटे झै हर्षे गदगद भए । यदि मैले यस प्रकारको माहौल नपाएको भए भर्भराउदो मेरो सिर्जनाको कलम उहिल्यै भाँची सक्थ्यो । तर त्यसो हुन पाएन हङकङको उर्वर साहित्यिक वातावरणले । यहाँ रहनु भएका साहित्यकार मित्रहरुको हातेमालो र पाठक अनि शुभचिन्तकहरुको हौसलाले देशवाट पलायन भएपनि लेखनवाट पलायन हुन सकिएन । वरु झन जोस भरिएर लेख्ने नयाँ इच्छा जागृत हुन थाल्यो । नेपाली भाषा साहित्य लेखन र वाङमयको सेवामा लागेको पनि थाहै नपाई दुइ दशक पो नाघेछ । अस्ति पुरानो डायरीको पानामा लेखिको मितिलाई नियाल्दा पो थाहा पाए । सम्झन्छु वि.सं.२०४३/४५साल महेन्द्र वहुमुखी क्याम्पस धरानमा अध्ययन गर्दा ताकाका क्षणहरु । धरान नगरीमा रहदा अत्यन्तै लगनशील भएर साहित्यको पारखी वनेको थिए किनकी त्यहाँ हुने साहित्यिक कार्यक्रमहरुमा प्राय मेरो सहभागिता हुन्थ्यो । त्यस वेला मेरो लेखनको रफ्तार निक्कै तेजिलो थियो । त्यहि रफ्तार अहिले सम्म निरन्तर भएको भए मेरो लेखनको स्तर हालको भन्दा फरक र उच्च हुन्थ्यो र कृतिहरु पनि अलि धेरै आउँने थिए होलान् । तर कारणवस् परदेशीनुले त्यसो हुन पाएन । साहित्य सिर्जनालाई थाँती राखेर परिश्रमको निलो महासागरमा हाम्फाल्न विवश हुनु पर्‍यो । कहिले कहि परदेशको कामले थाकेर सोच्थे वैशमा लेख्ने वैशालु कवि मात्र भइएछ जिन्दगीमा । त्यसो नसोचौ पनि कसरी कलमलाई विर्को हालेर परदेशमा समय विताउँन थालेपछि मनमा त्यसै उराठ उराठ लाग्थ्यो । तर पनि साहित्य लेख्ने जमर्को भने समय समय जागी रहन्थ्यो । नयाँ नयाँ सिर्जनाका विषयबस्तु मनमा स्वरुप लिएर आउथे तर पनि अक्षरहरुमा रुपान्तरण गर्न पाईन्नथ्यो । अरुको खटनमा काम गर्नु पर्ने भएकोले कपी कलम हातमा पर्ने कुरै भएन । त्यसैले कहिले कहि लेखुँ लागेका राम्रा विषयबस्तुहरु त्यसै पोखिएर जान्थे । तर समय सधै एकै प्रकारको मात्र नहुँदो रहेछ । समयले कोल्टे पनि फेर्दो रहेछ किनकी दक्षिण कोरियाको रोजगारीलाई छोडेर अचानक हङकङ आउँने मौका मिल्यो । हङकङमा पनि सुरुका दिनहरुमा त्यस्तै विषम परिस्थिती ब्यहोर्नु पर्ने त होलानी जस्तो लाग्थ्यो । तर मैले यहाँ सिर्जनशील मनहरु,कलमहरुसँग भेट्ने मौका पाए । त्यसवेला मेरो खुशीले सीमा नाघ्यो । सायद तिनै कारणहरुले होला मेरो लेखन यात्रामा नयाँ वषन्त छाउँन थाल्यो । मैले हङकङमा सानो नेपाल पाए र साहित्यको उर्वरभूमि पनि । त्यति मात्र नभएर सहकर्मी,पाठक,शुभचिन्तक सवै सवैलाई यहाँ पाए । त्यसैले त अक्षरहरु जोड्दै शब्दहरुमा जीवन जिउँन रहर लाग्न थालेको छ । परदेशमा पनि घरदेशको जस्तै आफ्नै नेपाली भाषा साहित्य र वाङमयको श्रीवृद्धिमा सेवा गर्न पाउँदा आफुलाई भाग्यशाली ठानेको छु । किनभने आफ्नै भाषाको महासागरमा निश्चिन्त पौडिन मौका यहाँ पाइरहेको छु । आजभोलि मलाई के लागिरहेछ भने साहित्य सिर्जना गर्नको लागि अनुकुल समय आफैले निर्माण गर्नुपर्दोरहेछ । किनकि साहित्य जोड्न कै लागि भनेर फुर्सदी समय यहाँ पनि कहाँ छ र ? तर जहा इच्छा त्यहाँ उपाय भने झैं यदि मनले चाहायो भने समय नमिल्ने कुरै भएन । अहिले आएका जे जति सिर्जनाहरु छन् ती सवै फुर्सदका उपज होइनन् । जीवन जिउँनुको लडाईमा वाचेखुचेका अति मूल्यवान समयहरु हुन् । त्यसो त परदेशमा बसेर साहित्य लेख्न थालिएको पहिले देखि नै हो । सायद परदेशी अग्रज लेखकहरुले पनि मेरै जस्तो हालत गुजारेका होलान् । मेरो महसुस र अनुभवमा त्यहि कुरा आउँछ । जस्तो सुकै परिस्थिति व्यहोर्नु परे पनि आज नेपाली साहित्यले हङकङ लगायत विश्वको कुना कुनामा आफ्नो पखेटा फिँजाउँने मौका पाएको छ । निश्चय नै यो हामी नेपाली भाषीहरुको लागि सुखद पक्ष हो । तर यति हुँदाहुँदै पनि परदेशमा जन्मे हुर्केर वढेका नयाँ नेपाली पीडीहरुमा नेपाली भाषाको लगाम कमजोरी हुदै गएको छ । जस्ले गर्दा भोलि गएर हाम्रा सन्ततीहरुमा नेपाली भाषाको प्रेम शुन्य भएर जान सक्छ । नयाँ पिडीकाहरुले नेपाली भाषा वोली हाले पनि अंग्रेजी मिश्रण गरेर वाल्ने गरेको पाइन्छ । हंगकंग लगायत विश्वभरि छरिएर रहनु हुने नेपाली अभिभावक वर्गले समयमा नै त्यतातिर ध्यान नमोडे भोलि देशप्रेम र देशप्रतिको दायित्व उनीहरुमा घटेर जान सक्छ । भाषा साहित्यलाई वचाउँन सोही भाषीहरु नै जागरुक र आन्दोलित हुनु अत्यान्तै जरुरी हुन्छ । अरु भाषीले प्रोत्साहन दिदैमा त्यो भाषा मौलिन सक्दैन । यिनै यथार्थतालाई मनन् गर्दै विगत १० वर्षयता नेपाली साहित्यको उत्थान गर्नको लागि नेपाली साहित्य प्रतिष्ठान हङकङ लगायत अन्य साहित्यिक संस्थाहरु हङकङमा स्थापना भएका छन् । तर भन्नै पर्ने कुरो के भने साहित्य लेखेर मात्र हुदैन उचित परिस्कार र त्यसको विकास गर्न ज्यादै आवश्यक हुन्छ । र समय समयमा साहित्यिक अन्तरक्रिया साथै गोष्ठिहरु पनि हुनु जरुरी छ । सम्झन्छु हङकङ आएर धेरै साहित्यिक क्रियाकलापमा सहभागी हुन पाउँदा धन्न कलमलाई वेल्चामा परिणत गरिनछु जस्तो लाग्छ । नत्र भने कहाँ यसरी शव्दहरुसँग खेलेर साहित्यको वगैचामा लुकमारी खेल्न पाइन्थ्यो र ? अव त जीवनको एउटा पाटो नै वनि सक्यो साहित्य पढ्नु र लेख्नु पनि । वाँच्नुको सार र साथर्कता साहित्य मै देख्छु आजभोलि । वरु यहाँ आएर मैले के कति र कस्तो रचनाहरु पाठकहरुको सामु पस्काए त्यो चाहिँ शुभचिन्तक तथा पाठकहरुलाई नै सोधानी गर्नु पर्ला । जे होस हङकङमा नेपाली साहित्यको प्रवाह ज्यादै उर्वर रुपले वढ्दै गएको पाएको छु ।

लोकतन्त्र र वर्तमान सन्दर्भ

हङकङमा कलम चलाउने साथीहरु साप्ताहिक रुपले आफ्ना विचारहरु सम्प्रेषण गर्न लागि परेकाछन् भने म चाहिं महिनौ पछाडी कामको चटारो र हतारोलाई वल्लैले पन्छाएर एउटा सानो लेख जोड्ने घृष्टता कस्दैछु । मनले जति नै कलम अर्जाप्न चाहे पनि कामको प्रकृतिले काहा पो भन्या जस्तै कलम चलाउन पाईएको छ र - तर पनि विचार र भावनाहरुले द्रविभूत गर्न थाले पछि अरु दश काम छोडेर भए पनि लेख्ने मान्छेलाई लेख्नु नै ठुलो लाग्दो रहेछ । त्यसैले कामसंग छलिदै लुक्दै यो लेखलाई अगाडी वढाउने तरखर गर्दैछु । हङकङ लगायत देशविदेशका समाचारहरु इन्टरनेट साथै विभिन्न पत्रपत्रिका मार्फ तात्तातै हेर्न पाउदा खुशी नलाग्ने कुरै भएन । मानिसको लागि सवै भन्दा ठुलो कुरो वाच्नु नै भएकोले शकुसल जीवन यात्रालाई अगाडी वढाउन पाउनु नै उपलब्धि हो कि भन्ने सम्झन्छु । नेपालको राजनैतिक परीवर्तनले हामी प्रवासमा वसीरहने नेपालीहरुको मनमा उत्साह र आशाको किरण प्रत्येक क्षण गाढा गाढा रुपले फैलिन थालेको छ । नेपाली जनताको मुल लक्ष्य र लर्डाई भनेको राजतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापना नै हो । यो मुद्दालाई छिनोफानो गर्नमा हङकङ वसोवास गर्ने नेपालीहरुको पनि कम योगदान छैन । यहि अनुरुप राजाले आफ्नो प्रत्यक्ष शासन गर्नवाट अन्तत नेपाली जनताको सामु नराम्ररी घुडा टेक्नु प-यो । जसले गर्दा लोकतन्त्र स्थापना को लागि अनूकुल परिस्थिती एकाएक सिर्जना हुन पुग्यो । विचारधारा वेग्लावेग्लै भए पनि लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने मुल नारा एउटै भएकोले सातदल र माओवादी आजभोलि एउटै वार्ताको टेवुलमा उत्रेकाछन् । लोकतन्त्र स्थापना पाश्चात के कस्ता नितीनियमहरु अवलम्वन गर्ने भन्ने विषयमा विभिन्न संघसस्थाहरुले गोष्ठि गर्नमा जुटिरहेका छन् भने पत्रपत्रिका मार्फ वुद्घजिवी पत्रकार लेखक साथै राजनितीकर्मीहरु समेत खुल्लेआम वहसमा जुटिरहेका छन् । जो हामी र्सवसाधारण जनताले पनि लोकतन्त्रको विषयमा जानकारी पाउने अवसर पाएका छौ । यता वार्ताको टेवुलमा पटक पटक सातदल र माओवादी वीच अझै सम्झौताको विन्दुमा पुग्न नसक्नु साथै वार्ता दिनानु दिन तन्किदै जानुले कतै वार्ता असफलता तिर धकेलिएको त होइन - भनेर आम नेपाली जनताले शंका गर्न थालेकाछन् । यसरी वार्ता लम्विदै जानुले लोकतान्त्रिक अभियानलाई आघात त पुग्छ नै त्यो भन्दा खतर्नाक राजावादीहरुले आफ्नो टाउको उठाउने मौका निर्वाध रुपले पाउने छन् । तर्सथ तत्काल वार्तावाट सातदल र माओवादी राजनैतिक सम्झौताको विन्दुमा पुगेर अन्तरीम र्सवदलिय सरकार गठन गरी सम्विधानसभाको चुनावमा लाग्नु पर्ने देखिन्छ । यी त भए देशका जाजाल्यमान कुरा अव अलिकति हङकङको परीवेश तिर मोडीयौ । यहावाट प्रकाशित साप्ताहिक सनसाइज र एभरेष्ट मार्फ विभिन्न लेख सचनाहरु सम्प्रेषण भैरहेकाछन् । त्यसलाई हामीले दृष्टिपात पनि गरीरहेका छौ । क्रियाप्रतिक्रिया पनि पढीरहे कै छौ । मुल त आदीवासी जनजातिको विषय माथी केन्द्रित रहेर आदीवासी जनजाति महासंघका महासचिव तथा सनराइज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङ्ग र चन्द्र दुमी र्राईका लेख प्रतिक्रियाहरु हेर्न पाइयो । उत्ता एभरेष्ट पत्रिका मार्फ प्रद्वयका विचारहरु पनि अध्यायन गर्दै आएकाछौ । जनजाति महासंघले मुल मुद्दाको रुपमा उठाएको विषय भनेको नै हङकङमा जनजाति महावाणिज्यदूतको माग गर्नु हो । यो एक प्रकारले जायज माग पनि हो किनभने हङकङमा जनजाति कै वाहुल्यता पाइन्छ । यसरी हङकङमा जनजातिहरुको वाहुल्यता हुदाहुदै पनि सूचना सेवा विभाग वाट प्रकाशित वाषिर्क पुस्तिका २००५ को तथ्यांक अनुसार हङकङमा ६२.५ प्रतिशत नेपाली हिन्दुधर्मवालम्वि छन् भनेर उल्लेख गरेको छ । हङकङमा रहेका अधिकांश अहिन्दुहरुलाई यो तथ्यांकले पुन पुरानै शैली अपनाइ हिन्दुधर्ममा मुछ्ने कार्य गरीएको छ । गलत तथ्यांक प्रति अधिकांश सघसस्थाहरुले भर्त्सना पनि गरीसकेका छन् । यी त भए यहाको विषय वस्तु तर हङकङ भन्दा टाढा यू.के. रहनु हुने मित्रहरुमा कवि टंक वनेम द्वारा लिखीत दुइ कविता संग्रहमा साँघुरी र वुढासुब्बा साथै लिम्बुभाषाको कविता संग्रह पेन्जिरी पेन् मिक्हा -भूल पर्ने जोडी आखा ) र गीतकार मिजास तेम्वे द्वारा निकालिएको आधुनिक गीति संग्रह उद्गार पनि हेर्न सुन्न अवश्य नपाएको होइन । तर समयाभावले गर्दा ती विषयहरु माथी विचार उठान गर्न मात्र नभ्याएको हुँ । सवै विषय माथी वेग्लावेग्लै टिकाटिप्पणी गरौ भने हातमुख जोड्नु पर्ने कामले सधै असार मात्र निम्त्याउछ । त्यसैले विभिन्न विषयहरुको गेडागुडी मीसाएर जसोतसो क्वाटी लेख पस्कन तम्सिरहेछु । नेपालमा धर्मनिरपेक्ष घोषणा भैसकेर पनि हङकङमा कताकता केहि व्यक्तिले लेखहरु मार्फ जनजातिहरुले साम्प्रदायिकता फैलायो भनेर लेख्ने कलमवाजहरु पनि नभएका होइनन् । सम्विधानसभा मार्फ संघात्मक शासन प्रणाली लागू गर्ने प्राय निश्चित भैसकेको वेला यस्तो वोल्नु आफैमा अवैज्ञानिक ठहरीन्छ । त्यसो त नेपालवाट प्रकाशित कान्तिपूर दैनिक मार्फ जातिय भाषिक र क्षेत्रिय स्वयतता सहित संघात्मक संरचना विरुध्द केहि कलमकर्मीहरुले मिसन नै चलाएका छन् । उनीहरु कहिल्यै उत्पीडीन वर्ग र जाति वारे कलम चलाउन चाहादैनन् । यदि ती वर्ग,जातिले आफ्नो अधिकारको लागि आवाज उठाए भने त्यसको खण्डन गर्न आफुले मात्रै सारा कुरा जानेको छु भन्ने ठानेर झुठो उदाहरणहरु अघि र्सार्छन् । मुलुकको साचो इतिहास र अन्तराष्ट्रिय घट्नाक्रम वंग्याएर आफु चोखिने निती अपनाउछन् । जस्तोसुकै विचारहरु हाम्रो सामु सम्प्रेशित भए पनि अव निर्माण गरीने सम्विधानसभा अर्न्तर्गत जनजाति तथा पिछडीएका जातिहरुलाई सम्वोधन गर्न सकेन भने भोलि गएर माओवादीको जनयुद्घ भन्दा भयानक युद्घ चर्कने सम्भावना देखिन्छ । अवको लोकतान्त्रिक शासन प्रणालीमा हिजो जस्तै नेताहरुले अरुको मुख ताक्ने र ढुलमुले निती अपनाएर जनतालाई झुक्याउने तर्फलाग्नु हुदैन । लोकतान्त्रिक सरकारले सम्विधानसभा द्वारा जातिय तथा क्षेत्रिय स्वयतता प्रणाली अपनाइ सम्पूर्ण र्सवसाधारण जनताहरुको पहुच सम्म लोकतन्त्रको महसुस गराउनु पर्छ । किनकी हामी सवैले केन्द्रवाट चल्ने सरकारको नियती भोगी सकेका छौ । तर्सथ अव निर्माण गरीने देशको निती सम्पूर्ण जनताले जान्नु वुझनु आवश्यक छ र त्यो उनीहरुको अधिकारको कुरा पनि हो । त्यसैले देश नेताहरुको नियन्त्रणमा नभएर नेपाली जनताको निर्देशनमा चल्न आवश्यक छ ।

असफलता नै सफलताको कडि

नेपाली समाजमा विभिन्न खाले उक्ति भनाई र उखान टुक्काहरु प्रचलनमा वोलिदैलेखिदै आएको पाइन्छ । खासमा यसलाई शव्द सेतुको रुपमा प्रयोग गरिएको हो । मानिसहरुलाई कसैलाई सफलता मिलोस् वा काममा दत्तचित्त भएर लागोस् भन्ने हेतुले उदाहरण स्वरुप यस्ता भनाई र उखान टुक्काहरु पेश गरिन्छ । यस्ता नेपाली जन जिब्रोमा झुण्डिएका धेरै छन्, ती मध्ये असफलता नै सफलताको कडी हो भन्ने उक्ति धेरै भन्दा धेरै वोली चालीमा मिसाइन्छ । यसलाई शव्द चट्नी भने पनि त्यति फरक पर्दैन यिनै शव्दका हाउभाउले उच्चारण गरिएका आवाजहरु अरुले सुन्दा मीठास पैदा गरिदिन्छ । अझ वुढापाकाहरुले आफ्ना छोरा छोरी वा आफन्तहरुलाई उपदेशकै रुपमा वोल्ने गरेका छन् । साच्चै भन्ने हो भने भने यी उक्ति, भनाई र उखान टुक्काहरु अर्ति उपदेश नै हुन् । जुन उद्गारले र्स्पर्श गर्दा मानिसहरुलाई सधैं केही काम गर्न हौसला प्रदान गर्छ । त्यति मात्र मात्र होइन वारम्वार घच्घच्याई रहन्छ । लाग्छ यस्ता खाले भनाइहरु पूर्खाहरुले त्यतिकै जोडेका होइनन् । तीतो अनुभवमा चुर्लुम्म डुवेर अनुभूतिले सत्य सावित गरी जन्माईएका सुन्दर शव्द मालाहरु हुन् । जहां हामी सत्यतालाई र्छलङगै घाम झैं देख्न सक्छौं । पूर्खाहरुले पीडासंगै जिन्दगी गालेर कैयौं हण्डर, ठक्करको वावजूद थाहा पाएका कुराहरु सन्ततीहरुले पनि भोग्न नपरोस् भन्ने अभिप्रायले वोली चाली र व्यवहारमा प्रत्यक्ष प्रस्तुत गर्दै आएका हुन् । यसरी वोल्दा वा लेख्दा व्यवहारमा तुरुन्तै लागु नभए पनि भोगाइको भर्याङहरुमा आफै ज्यामितीय रुपले प्रमाणित हुदै जान्छन् । वोल्दा ठट्टै जस्तो लाग्न गए पनि त्यसको महत्वले हामीमाथि एउटा शक्तिशाली प्रभाव जमाउछ । जसको प्रभावले मस्तिष्कलाई छामेर विवेक भइदिन्छ प्रतिफल स्वरुप चेतनाको प्रकाश फैलाई दिन्छ । कुनै काम वा योजनाको गोरेटोमा उत्साह र उमंग हलक्कै वर्ढाई दिन्छ । जहासम्म लाग्छ पूर्खाहरुले दिएका यी जीवन मार्गहरु समयमा नै अंगाल्न सके त्यो भन्दा सजिलो उपाय अरु केही हुन्न । अन्जानमा भोग्नु भन्दा सुनेर भोग्दै जादा कठिनाई पन्छाउन त्यति मेहेनत गरी रहनु पर्दैन । अनुभवले नै परिपक्व वनाउछ मानिसलाई । यस्ता उद्गारहरुलाई हामीले नै चरितार्थ गर्न नसके पनि विश्वमा आफ्नो कर्ीर्तिमानलाई उभ्याएर सत्य सावित गरिदिएका छन् । तर्सथ इतिहासका पानाहरु पल्टाएर हेरे पक्कै पनि त्यो हाम्रो प्रेरणाको श्रोत वन्न सक्छ । प्रेरणा प्रकाश हो जसले मनभित्र रहेको अ ध्यारोलाई कुल्चिदिन्छ । यही उज्यालो नपाएर हामी कति आफ्नै कर्तव्य विर्सिरहेका हुन्छौ । यो एउटा पाठ हो जो कसैले पनि सुन्न सिक्न जान्न आवश्यक छ । केही कथम् असफलको भड्खालोमा चिप्लेर पसियो भने पनि मानसिक रुपले तन्दरुस्त हुन सक्यौ भने त्यसले भौतिक रुपले पनि सफलतामा उक्लन सक्छ । यो कमजोरी सफलतामा देखा पर्यो भने त्यसले सफलताकै माझवाट असफलता व्यहोर्न सक्छ । प्रँय समाजमा सफताकै कथा वढी तुन्ने गरिएको छ । त्यसो त असफतलाको कथा पनि नलेखिने त होइन । कोही मान्छे आफ्नो सपनावाट विमुख हुन नपरोस् भन्नकै खातिर पनि सफलताको कथालाई समाजमा स्थापित गरिदै आएको हो । यो संसारमा एक दुइ कुरा र व्यक्ति अपवादमा वाहेक प्राय सवैले जीवनमा सफलताको मीठो स्वाद चाख्नु अगावै केही न केही कुरामा असफलताले लोप्पा ख्वाई सकेको हुन्छ । त्यही लोप्पाले गर्दा कतिको मन माथिको हुन्छ भने कतिको दिलै सीसा झै टुक्रिएको हुन्छ । तर सानो तिनो असफलताले छोप्यो भन्दैमा जीवनलाई वर्वादी तिर धकेल्नु ठूलो भूल हुन्छ । यो त एउटा व्यक्तिसंग सम्वन्धित कुरा हो । त्यसलाई अलि पर राखेर सफल मानव इतिहासतिर प्रवेश गरौं । वैज्ञानिकहरुको अनेकौं खोज र अनुसन्धानले मानव जातिको पूर्खा वादरलाई नै मानेका छन् । वादरवाट विस्तारै विस्तारै विकसित हुदै मान्छे हुदासम्मका अनेकौं चरणहरु मान्छेले विभिन्न खाले असफलताहरु टेक्दै आएका हुन । युग परिस्थितिको र समयसंग पैठेजोरी खेल्न नसकेको भए मानवको सभ्यता यहांसम्म टागिएर अवश्य आई पुग्ने थिएन । मानिस अरु प्राणी भन्दा वुद्धिमान भएकै कारणले असहज र खतरा मोल्न सिपालु भयो । अथवा समयको परिवर्तनसंगै आफूलाई परिवर्तन गर्न सक्षम भयो । यही कारणले मानव वंशज नासिएर गएन, लोप भएर गएन । सफलतामा आज हामी मान्छे भएर वाचेका छौ । मानव इतिहासलाई विस्तृत रुपले हेर्न चाहेमा ती अनुसन्धान र खोजको ठेलीलाई पल्टाउनै पर्छ । यो भयो सफलताको इतिहास भएको अध्यारो पाटोलाई पनि केलाएर हेरौं । पृथ्वीमा झण्डै ६ करोड वर्षपहिले अस्तित्वमा आएका भीमकाय प्राणी डाइनोसौर हाल लोप भै सकेको छ । पाए कतै कतै डाइनोसारहरुका अस्थिपञ्जरहरु मात्र पाइन्छन् । आज ती भीमकाय प्राणीहरु किन छैनन् । यसको उत्तर सहजै पाउन सकिन्छ त्यो के हो भने समय सापेक्ष हुन नसक्नु, समय एउटा यस्तो चक्र हो जसले पृथ्वीको परिस्थितिलाई विभिन्न रुपमा वाडफाड गर्छ । यिनै परिस्थितिलाई ती प्राणीहरुले कसरी आफू सुहाउ“दो वनाउने भन्ने कुरा जानेनन् । तव उनीहरु एकाएक लोप हुन पुगे । यहा एउटा कुरा के प्रत्यक्ष रुपमा देखिन्छ भने समय सापेक्ष हुनु नै सफलताको चिन्ह हो भन्ने वुझिन्छ । वसौं शताव्दीका महान वैज्ञानिक आइन्साटाइनले पनि सापेक्षवादको व्याख्या गरेका थिए भने त्यस्तै अर्का वैज्ञानिक चार्स डार्विनले पनि समय र युग सुहाउदो प्राणीहरुले आफ्नो अस्तित्व कायम गर्न स्वरुप परिवर्तन गर्न आवश्यक हुन्छ भन्ने कुरा नै प्रमाणित गरिदिएका छन् । हाम्रो जीवन पनि सृष्टि, समय र परिस्थितिसंग सदैव घनिष्ठ सम्वन्ध राख्दछ । तर्सथ हामीले यो कुरो जान्नु पर्दछ कि कुनै काममा सफलताको पाइला टेक्नकोलागि थुप्रै असफलताका पाइलाहरु कुल्चि सक्नु पर्दछ । नौलो कुराको माग हुनु नै समय कै गति हो । समयलाई चिन्न र सदुपयोग गर्न सके त्यो भन्दा ठूलो सफलता अरु केही हुन्न । हरेक कुरा समयले निम्त्याउने हो । त्यसलाई सही ढंगले उपयोग र उपभोग गरे असफलतामा सफलताको घाम नझुल्कने कुरै भएन ।